November 26, 2020
विविध

 मेरो दिनचर्या

 मेरो दिनचर्या

कसले सोचेको थियो, कोरोना, उर्फ कोभिड–१९ ले संसारलाई यति नराम्ररी हल्लाइ दिन्छ भनेर ?कसले सोचेको थियो, महिनौं सम्मघर भित्रैे बन्दी बनेर बस्नु पर्नेछ भनेर ? जे भयो, सबै कुरा अचानक भइदियो । विद्यालय, विश्वविद्यालय बन्द भए ।  दैनिक हजार भन्दाबढि विद्यार्थीहरुसँग हाँस खेल गर्ने बानी परेको मलाई भने के नपुगे के नपुगे जस्तो भइरहेको छ । मलाई विद्यार्थीहरुको न्यास्रो लागिरहेको छ । 

लकडाउनको पहिलो हप्ता सामाजिक संजाल निकै कमेडीमय बन्यो । एकाध ठट्टामा म पनि मज्जाले सहभागी बनें । मलाई थाहा थियो, जीवन ठट्टामा मात्र चल्दैन । कोविड–१९ ठट्टाको बिषय पनि होइन । जानिएन भने यसले सबैलाई ध्वस्त बनाउँछ । कोरोनाले नलडाए पनि लकडाउनपछि बिकास हुने घटनाक्रमले धेरैको अस्तित्वलाई सखाप पार्न सक्छ । त्यसैले विश्व परिस्थिति र यसले पार्न सक्ने प्रभाव, नेपाली परिवेशमा भावी चुनौतीलाई कसरी सामाना गर्ने होला भनी हरेक पल चनाखो बनेर बस्नुपर्ने ठानेर आफूले भ्याएसम्म अध्ययन गरिरहेको छु । 

यो समयमा सामान्य किसिमको स्वास्थ्य समस्याले पनि ठूलो रुप लिन सक्छ । त्यसमा शारिरीक स्वास्थ्य र मानसिक स्वास्थ्य दुवै पर्दछन् । त्यसैले हरेक दिन बिहान करीब एक घण्टा योग, ध्यान र व्यायाम गर्नु मेरो दिनचर्या बनेको छ । मनलाई पीर र चिन्ताबाट टाढा राखि राख्न विभिन्न प्रकारका सकारात्मक प्रवचनहरु सुन्ने गर्दछु । स्वास्थ्यमा खानेकुराको मुख्यभूमिका रहन्छ । तसर्थ, हरेक दिन म शरीरलाई चाहिने पौष्टिक तत्वहरुको लेखाजोखा गर्दै क्यालोरी मिलाएर खाने गर्दछु ।

मेरो जीवनको लागि पनि यो खराब परिस्थिति नै हो । मानव जगतलाई नै सखाप पार्न तम्सेको यो महाव्याधिलाई विश्वकै वादशाहहरुले थेग्न नसकेको बेला तपाईं हामीले रोक्न सक्ने त हुँदै होइन ।  तर  पनि यस्ता कुरा सम्झेर रोइरहनु पनि भएन । यति कुरा भने ग्यारेण्टी छ, जतिसुकै अप्ठेरा दिन किन नहोस्, त्यो दिन सँधै रहँनै सक्दैन  । त्यतिञ्जेलसम्म घरमै बसी आफूले आफैलाई बचाउने हो ।

खराब परिस्थितिमा धेरैले आफैलाई तोड्छन्, तर थोरै मान्छे यस्ता हुन्छन्, उनीहरु चुनौतीको पहाडसँग डटेर सामना गर्छन् र दुनियाँले कायम गरेका सबै रेकर्डहरु तोड्न सफल हुन्छन् । कोरोना भाइरसको आक्रमणले आज संसार धरासायी बनिरहेको बेला केही फरक सोच भएकाहरु दुनियाँले बनाएको रेकर्ड तोडिरहेका छन् जस्तै, अमेजन, डिज्ने, नेटफ्लिक्स, अलिबाबा, जुम अनलाइन पोर्टल आदि ।

मेरो जीवनको लागि पनि यो खराब परिस्थिति नै हो । मानव जगतलाई नै सखाप पार्न तम्सेको यो महाव्याधिलाई विश्वकै वादशाहहरुले थेग्न नसकेको बेला तपाईं हामीले रोक्न सक्ने त हुँदै होइन ।  तर  पनि यस्ता कुरा सम्झेर रोइरहनु पनि भएन । यति कुरा भने ग्यारेण्टी छ, जतिसुकै अप्ठेरा दिन किन नहोस्, त्यो दिन सँधै रहँनै सक्दैन  । त्यतिञ्जेलसम्म घरमै बसी आफूले आफैलाई बचाउने हो ।

लकडाउन सुरु भएका केही दिन अलिअलि अल्मलिए जस्तो भए पनि पछि मैले सम्भावनाहरु खोजें । पहिले कामको दौरानमा मुसाको जस्तो जीवन थियो, जतिखेर पनि दौडधुप, कहिल्यै फुर्सद नपाउने । कामको चटारोले यति धेरै च्याप्थ्यो कि, आफ्नो मनको कुरा कहिल्यै सुन्न पाउन्नथें । तर यी दिनहरुमा त्यसका लागि मनग्य समय पाएको छु । मन परेको पुस्तक पढ्न पाएको छु । उमेरले हो या परिस्थितिले हो थाहा भएन, यी दिनहरुमा मैले आध्यत्मिकधारका पुस्तकहरु बढि पढें जसमा हिन्दु दर्शन, बौद्ध दर्शन, आध्यात्मिक गुरुहरुका जीवनी, प्रवचन संग्रह आदि । त्यसका अलावा मैले सकारात्मक सोच र सफलताका कथाहरु, शैक्षिक प्रणाली, शिक्षण विधि आदिसँग सम्बन्धित पुस्तकहरु पढ्न भ्याएँ ।

माथि नै चर्चा गरिसकें योग, ध्यान, शारिरीक व्यायाम त दैनिकी नै हो । मनका कुरा लेख्ने फुर्सद पाउँदिनथेँ, अहिले पाएको छु । लोकसम्वाद अनलाईन पत्रिकामार्फत् हरेक हप्ता सोमबारका दिन मेरो लेख प्रकाशित भइरहेको छ । शिक्षालय अनलाइन पत्रिकामार्फत् मेरा यी कुराहरु सुनाइरहेको छु । मनमा लागेका कुराहरुलाई जानीनजानी आफैले भिडियो बनाएर युट्युब र फेसबुकमार्फत् शेयर गर्न पाएको छु । घरको भान्छा, फूलबारीको रेखदेख गर्ने समय पाएको छु । परिवारसँगै बस्न पाएको छु । देश विदेशमा रहेका साथीहरुसँग अनलाइनमै भए पनि भेटघाट, बैठक, सेमिनार आदि चलिहेको छ ।

लकडाउनपछि के कस्तो परिस्थिति आउला र स्कूलको बाटो कतातिर जान्छ होला भनेर विश्लेषण गर्ने र त्यसका लागि आवश्यक सीपको विकास गर्नुका साथै पूर्वाधार निर्माणको खाका तयार गरिरहेको छु । मैले २०४५ सालको एकवर्षे भारतीय नाकाबन्दीको सामना गरेको छु । त्यही सालको भूकम्प र २०४६ सालको जन–आन्दोलनलाई नजिकबाट भोगेको छु । दशवर्षे जनयुद्धको पीडा, २०६२÷०६३को दोश्रो जनआन्दोलनदेखि राजतन्त्रको अन्त्यको साक्षी बन्न पाएको छु । २०७२ सालको महा–भूकम्प, त्यही सालको ६ महिना लामो भारतीय नाकाबन्दीलाई पनि भोगेको छु । आज कोरोना महामारीको चपेटाको प्रत्यक्षदर्शी बनेर बसेको छु ।   

हरेक खराब दिनहरुले उज्वल भविष्यलाई सँगसँगै लिएर आउँछ भन्छन् । म पनि निकट भविष्यको सुनौलो दिनको लागि आफूलाई तयार पारिरहेको छु । साँच्चै भन्नु पर्दा मलाई दिउँसो सुत्ने फुर्सद् छैन । अरु दिनमा भन्दा कम समय फेसबुक चलाउँछु । टिभी नहेरेको र दैनिक पत्रिका किनेर नपढेको त ५ वर्ष नाघिसक्यो । लकडाउनको एक महिना अवधिमा युट्युबमा ५ वटा चलचित्रहरु हेरें ओस्कार विजेता हलिउडको चलचित्र “१९१७”, चारवटा विधामा ओस्कार पुरस्कार जितेको कोरियन चलचित्र “प्यारासाइट”, विश्व बस्नेत निर्मित नेपाली शैक्षिक चलचित्र “स्कूल” र २ वटा हिन्दी शैक्षिक चलचित्रहरु “चक एण्ड डस्टर” र “रफ बुक”।

दुनियाँ भर्चुअल समाज निर्माणमा व्यस्त छ । हरेक कुराको अनलाइन चर्चा छ । म पनि त्यसमा अभ्यस्त बन्न खोज्दै छु । स्कूलको शिक्षण सिकाइलाई अनलाइन प्रविधिमा रुपान्तरित गर्नमा व्यस्त छु ।

(महर्जन, माउण्ट भ्यू इृ.बो. स्कुलका संस्थापक प्रिन्सिपल, क्वेष्ट नेपालका राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय प्याब्सनका प्राज्ञिक सल्लाहकार हुन् ।)

1 Comments

  • Muchas gracias. ?Como puedo iniciar sesion?

Leave a comment