November 26, 2020
समाचार

परीक्षा प्रणालीको अग्नीपरीक्षा

परीक्षा प्रणालीको अग्नीपरीक्षा

एउटा जेन कथा छ, जसमा धेरै वर्षको कठोर गुरुकुलीय साधना पछि ३ जना शिष्यहरू दिक्षित भएर समाजमा फर्किने दिन आउँछ । गुरुले “एउटा सानो अन्तिम परीक्षा बाँकी छ, तर जरुरी कामले मलाई कतै जानु पनि छ । त्यसैले मध्यान्हसम्ममा म फर्किन भने चाँही तिमीहरू जान सक्छौ भन्छन् ।

शिष्य चाँही बैराग्य भावमा आफ्नो पोका पन्तरालाई एक छेउमा राखेर त्यो सबै काँढाहरू पन्छाउन तिर लाग्छ । यत्तिकैमा गुरु एक्कासी झाडीभित्रबाट प्रकट हुन्छन् र अगाडि पुगिसकेका दुई जनाको साधना पूरा नभएकोले तुरुन्त आश्रममा फर्कन आदेश दिन्छन् । अनि तेस्रो शिष्यलाई चाँही आशीर्वाद दिएर दिक्षित गर्दै पठाउँछन् ।

शिष्यहरू चिन्तित हुँदै पर्खन्छन् तर मध्यान्ह कटिसक्दा पनि गुरु नआएपछि केही खुशी हुँदै पोका पन्तरा बोकेर बाटो लाग्छन् । जाँदै गर्दा बाटोमा झमक्क साँझ पर्छ र एक ठाउँमा पुगेपछि उनीहरूले बाटोभरी काँढे घाँस फालिएको देख्छन् । यो देखेर पहिलो शिष्य केही दुःखी हुँदै बाटोको छेउबाट सुरक्षित तवरले अगाडि बढ्छ, दोस्रो चाँही उत्साहित हुँदै अलिकति पछाडी फर्केर पूरै बल लगाएर दौडेर उर्फन्छ र नाघेर अगाडि बढ्छ । तर, तेस्रो शिष्य चाँही बैराग्य भावमा आफ्नो पोका पन्तरालाई एक छेउमा राखेर त्यो सबै काँढाहरू पन्छाउन तिर लाग्छ । यत्तिकैमा गुरु एक्कासी झाडीभित्रबाट प्रकट हुन्छन् र अगाडि पुगिसकेका दुई जनाको साधना पूरा नभएकोले तुरुन्त आश्रममा फर्कन आदेश दिन्छन् । अनि तेस्रो शिष्यलाई चाँही आशीर्वाद दिएर दिक्षित गर्दै पठाउँछन् । कुनै बेला शिष्यको सर्वपक्षीय मूल्यांकन यसरी हुने गर्दथ्यो तर अचेल नेपालको आधुनिक शिक्षाको परीक्षा कस्तो छ त ? सायद यसको विश्लेषण गर्ने सही समय आएको छ ।

एसइईको नतिजासँगै अहिले सर्वाधिक चर्चामा छ, नेपालको परीक्षा वा मूल्यांकन प्रणाली । धेरैले ३ घण्टे परीक्षा प्रणाली नै शिक्षाका सम्पूर्ण समस्याहरूको जडको रुपमा बुझेका छन् तर त्यसको व्यावहारिक र वैज्ञानिकरुपले प्रभावकारी विकल्पमा भने यथेष्ट छलफल हुन सकेको छैन । त्यसैले आउनुहोस्, यस विषयमा सविस्तार चर्चा गर्दै परीक्षाको अग्नीपरीक्षा लिने काम गरौं ।

मूल्यांकन वा परीक्षा भनेको विद्यार्थीहरूको सिकाइको प्रक्रिया र त्यसको समग्रताको मापन हो । यसमा पाठ््यक्रमद्वारा निर्दिष्ट गरेको सिकाइ उपलब्धीअनुसारको ज्ञान, सीप, त्यसको प्रयोग र अभिवृत्ति विद्यार्थीले आर्जन वा निर्माण गरेको स्तरलाई विभिन्न चरणमा मापन गर्दै उसको सिकाइको समग्रस्तर हेरि अंक अथवा ग्रेड दिएर सिकाइको प्रमाणीकरण गरिन्छ ।

 

सिकाइमा ज्ञानको आर्जन र निर्माण कसरी हुन्छ?

सुप्रसिद्ध अमेरिकी शिक्षा मनोवैज्ञानिक बेन्जामिन ब्लूम र उनको समूहले सन १९५६ मा प्रतिपादन गरेको सर्वव्यापी ल्बूम्स टैक्सोनमीको आधारमा शिक्षाको उद्देश्यलाई कग्निटिभ, अफेक्टिभ र साईकोमोटर गरी ३ समूह र त्यसभित्र विभिन्न चरणहरूमा वर्गीकरण गरिएको छ । समग्रमा भन्ने हो भने संसारभरी नै पाठ््यक्रमले निर्दिष्ट गर्ने सिकाइ उपलब्धीहरू यसैमा आधारित रहेको पाइन्छ । हाम्रो शिक्षा प्रणालीले मूल रुपमा कग्निटिभ वा संज्ञानात्मक सिकाइलाई अँगालेको छ र आंशिकरुपमा अन्य समूहलाई स्थान दिएको देखिन्छ ।

ब्लूम्स टैक्सोनमी अनुसार कुनै पनि पाठ््यवस्तुको ज्ञान आर्जन र निर्माण गर्न सुरुमा शिक्षक, किताब वा अन्य स्रोतमार्फत् केही तथ्यहरूको जानकारी, स्मरण र बोध गराइन्छ । त्यसपछि उक्त विषयवस्तुको व्यावहारिक प्रयोगका लागि आवश्यक सीप र दक्षता विकास गरी व्यावहारिक प्रयोग, अवलोकन, विश्लेषण र मूल्यांकन गर्दै अन्तमा देखिने वस्तु वा अभिव्यक्त गर्न सकिने सामग्री सिर्जनामा टुङ्गिनु पर्छ । यी सबै चरणहरू पार गराई सकेपछि विद्यार्थीहरूको गराईको अनुभावमा आधारित वास्तविक र जीवनसार्थक गहिरो सिकाइ घटित हुन्छ ।

 

नेपालमा सिकाइ र परीक्षाको दायराः

केही अपवादलाई छोडेर नेपालका सबैजसो विद्यालयहरूमा सिकाइका उल्लेखित सबै चरणहरू पार गराइँदैन । पाठ््यपुस्तक र भाषण विधिमा आधारित परम्परागत शिक्षण हावी भएकोले किताबका सीमित तथ्यको जानकारी, त्यसको स्मरण र सीमित बोधमा नै सिकाइ टुङ्गिन्छ । तसर्थ, हाम्रो सिकाइ सतही छ, सीप, दक्षता, व्यावहारिक प्रयोग, विश्लेषणत्मक तथा समालोचक सोच र सिर्जनाको अनुपम अनुभवका अवसरबाट विद्यार्थीहरू विमूख छन् । त्यसैले परीक्षा भन्ने बित्तिकै सबैको सोचाइमा पढेका कुरा सम्झेर र नहेरिकन तोकिएको समयभित्र लेख्ने क्षमताको मापन भन्ने आउँछ जुन वास्तविक सिकाइ र मूल्यांकन हुँदै हैन, त्यसको वास्तविक जीवनसँग सम्बन्ध पनि छैन र प्रयोग पनि हुँदैन । सम्झेर र नहेरिकन लेख्नुले त वास्तविक जीवनमा खासै धेरै अर्थ नराख्ने मात्र हैन, मान्छेलाई अपराधीसमेत बनाउन सक्छ । मानि लिउँ, तपाईँले कुनै कृति किन्नुभो, दिनरात रटेर केही समय पछि सम्झेर, कतै नहेरिकन आफैंले लेखेर आफ्नो नाममा प्रकाशन गर्न पठाउनुभो भने तपाईँलाई बौद्धिक चोरीको मुद्दा लाग्छ कि लाग्दैन ? तपाईँले जेल जानु पर्छ कि पर्दैन ? तर सोच्नुस् त, जुन क्षमतालाई हाम्रो शिक्षा प्रणालीले उत्कृष्ट भन्छ, वास्तविक जीवनमा त्यो एउटा अपराध हुन जान्छ । अनि यस्तो साँघुरो र अपूरो सिकाइ किन, केका लागि र कहिलेसम्म ? वास्तविक जिवनको कुनै पनि पेशामा केही काम गराउनु परेमा कसैलाई “पहिला नहेरीकन लेख्नु, त्यसमा उत्तीर्ण भएमा मात्र गर्नु भनेर भनिन्छ ? हामी स्तरीकृत परीक्षाको कुरा गर्छौं, अनि उत्तीर्ण र अनुत्तीर्णको भाँडभैलोमा अल्मिलिन्छौं । वास्तवमा अनुत्तीर्ण विद्यार्थी हैन, हाम्रो शिक्षा प्रणाली, शिक्षण प्रकृया र समस्त शिक्षाक्षेत्र चाँही असफल र अनुत्तीर्ण हो ।

 

तर, पाठ्क्रममात सबै छ त !

पहिलो त हाम्रो पाठ्क्रम निकैै कमजोर छ किनकी यो गतिशील छैन र यसको निर्माण र विस्तृतीकरणमा शिक्षक र विद्यार्थीको संलग्नता र योगदान रहने ठाउँ छैन । केन्द्रिकृत रुपमा एकचोटी बनाएको पाठ्क्रम दशौं वर्ष चल्छ र त्यसपछि हुने सामान्य परिमार्जनको कार्यान्वयन पनि कक्षागतरुपमा पालैपालो गराएर अर्को दशौं वर्ष त परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्नमा खर्च हुन्छ । त्यसमाथि पनि यसले निर्दिष्ट गरेको सिकाइ उद्देश्य नै मूलतः “भन्न सक्नेछन्, चिन्न सक्नेछन् र व्याख्या गर्न सक्नेछन्मा अल्झिएको छ । ज्ञानको बहुआयामिक संरचना, सिर्जना र प्रयोगको लागि यथेष्ट स्थान छैन ।

  • सबैजसो विद्यालयहरुमा सिकाईका उल्लेखित सबै चरणहरु पार गराईँदैन ।
  • सम्झेर र नहेरीकन लेख्नुले त वास्तविक जीवनमा मान्छेलाई अपराधी समेत बनाउन सक्छ ।
  • पाठ्यक्रमको निर्माण र विस्तृतीकरणमा शिक्षक र विद्यार्थीको संलग्नता र योगदान छैन
  • कापी र कलमको प्रयोग गरेर स्मृतीको बलमा शब्द र अंकहरुको सहायताले दिईने परीक्षामा जुनसुकै तहको प्रश्न भनिएपनि स्मरणकै परीक्षण हुन्छ ।

      हाम्रो पाठ्क्रमले मूल्यांकनको लागि प्रश्न पत्र निर्माणमा प्रश्नका तहहरू निर्धारण गरेको छ – ज्ञान र बोध, सिर्जनात्मक, समालोचनात्मक सोचाइ तथा विश्लेषण, समस्या समाधान, प्रयोगात्मक कार्य क्षमता र मूल्य तथा अभिवृत्ति, आदि । विषयगत रुपमा कतै घटी र कतै सबै उल्लेख छ । यसरी हेर्दा यो ब्लुम्स टैक्सोनमीमा आधारित र उत्कृष्ट देखिन्छ तर समस्या कहाँ छ त ?

१. सिकाइका यी सबै चरणहरू पूरा भएका छन् त ?

शिक्षकले किताब सुनाएर पढाउने अभ्यासबाट यो सम्भव छैन, मूलतः ज्ञान (तथ्य) को स्मृती र बोधमा मात्र शिक्षण क्रियाकलाप सीमित रहन्छ । कतैकतै शिक्षकको क्षमताअनुसार अन्य केही चरणहरूको अभ्यास भएका छन् जुन नगण्य छ ।

 

२. शिक्षण नभएका पक्षहरूको परीक्षण किन त ?

किनकी पाठ्यक्रमले त्यस्तो गर्न भनेको छ ।

 

३. परीक्षा हलमा सबै पक्षको परीक्षण सम्भव छ ?

कापी र कलमको प्रयोग गरेर स्मृतीको बलमा शब्द र अंकहरूको सहायताले यी सबै सिकाईका पक्षहरूको प्रस्तुती र परीक्षण न त सम्भव छ र न त आवश्यक नै । मल्टिपल ईन्टेलिजेन्सेज् थ्योरीका प्रणेता अमेरिकी शिक्षाविद् प्रा. डा. होवार्ड गार्नरका अनुसार यो पद्दतीले “केवल शाब्दिकभाषिक र गणिततार्किक बुद्दिमता तथा सीमित अवसरहरूमा दृश्यस्थान बुद्धिमताको मात्र परीक्षण गर्दछ । अथाह सम्भावनाका अन्य बुद्धिमताहरूको न सिकाइले कदर गर्छ, न त परीक्षाले ।

 

४. विभिन्न तहको प्रश्नहरूले त सबै पक्षको परीक्षण हुनुपर्ने हैन?

प्रश्न जुनसुकै तहको भनेर बनाइए पनि निश्चित समयमा लेखेर दिनुपर्ने परीक्षाले अन्ततोगत्वा स्मरणकै परीक्षण गर्ने हो । मानौं, हामीले विद्यार्थीलाई अध्ययन भ्रमणमा लग्यौं र प्रतिवेदन तयार गर्न लगायौं भने त्यही समयमा उक्त अध्ययन भ्रमणमा उसको गतिविधी र प्रतिवेदनको आधारमा मूल्यांकन हुनुपर्ने हो । तर यहाँ त परीक्षामा आएर प्रतिवेदन लेख्न लगाईन्छ, मतलब उसले धेरै महिना अगाडिको भ्रमण याद गर्दै लेख्नु प¥र्यो । यसो गर्दा जुनसुकै तहको प्रश्न भनिए पनि फेरी पनि उसको स्मृतीकै मात्र परीक्षण हुने भयो । विज्ञानको प्रयोगात्मक अभ्यास वा ओबिटिईको पाक शिक्षा वा खेतिपाति, हुने यही नै हो ।

५. प्रयोगात्मकपरीक्षाको व्यवस्था छ त !

प्रयोगात्मक सीपलाई थोरै र छुट्टै परीक्षण गर्ने एकदमै पुरानो विधि हो । यसले सम्पूर्ण सिकाइ उपलब्धीहरूको परीक्षण गर्दैन । तसर्थ सैद्धान्तिक र प्रयोगात्मक सिकाइ यसरी पृथकरुपमा राख्नु हुँदैन किनकी मूल्यांकन भनेको सिकाइको अन्तमा मात्र हैन, सम्पूर्ण प्रक्रियाको हुन जरुरी छ रसबै पाठ्यवस्तुलाई प्रयोगात्मक बनाएर शिक्षालाई जीवनसँग जोड्न पनि अपरिहार्य छ ।

 

अब कसरी सिकाउने र परीक्षा लिने त ?

अब सिकाइ र परीक्षा साथसाथ लैजान जरुरी छ किनकी “सिकाइको मूल्यांकन मात्र हैन, “सिकाइका लागि मूल्यांकनको निर्माणात्मक अभ्यासमा जानै पर्छ । हालै जारी भएको “आधारभूत तह कक्षा १३ का लागि विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०७६ले पनि यसलाई समेटेको पनि छ । अबको सिकाइले कमसेकम पनि सिकाइका सबै तह र चरणहरू पार गर्नु जरुरी छ र सिकाइका हरेक क्रियाकलापहरूको चरणबद्धरुपमा निरन्तर मूल्यांकन हुन पनि जरुरी छ । वर्षको अन्तमा लिईने अहिलेको जस्तो योगात्मक परीक्षाको भार घटाएर २० देखि ३० प्रतिशतमा झार्नु ठीक हुन्छ ।

यसका लागि ज्ञान र बोधको प्रारम्भिक चरणको लागि प्रत्यक्ष कक्षा शिक्षणको समय घटाएर १० प्रतिशतमा झारौं । त्यसपछि सीप र दक्षता विकास गराउन र प्रयोग गराउन कक्षाकोठाभित्रको परम्परागत शिक्षणले समेट्दैन । यसको लागि विद्यालय परिसर, स्थानीय खेतबारी, बोटबिरुवा, सम्पदा, समुदाय, टोलछिमेक र घरपसलहरूलाई शिक्षणसिकाइसँग जोडौं । सँधै त्यस्तो सम्भव नभएको अवस्थामा नमूना मिनिएचर सामग्री र वातावरण निर्माण गर्न सकिन्छ ।

अमेरिकामा यस्ता सबै पक्षहरूको मूल्यांकनका लागि पाठ्यक्रमको विषयवस्तु र सीपदक्षताको राज्यस्तरीय कमनकोर स्टेट स्ट्याण्डर्ड, एक्काईसौं शताब्दीको क्षमता “फोर सी को कमनकोर स्ट्याण्डर्ड र उच्च शिक्षा केन्द्रित “थ्री सी (कलेज, करियर, सिभिक लाईफ) फ्रेमवर्कको  स्टेट स्ट्याण्डर्ड, आदि निर्दिष्ट गरेको देखिन्छ ।

कार्यसीप र दक्षता विकास गरी त्यसको व्यावहारिक प्रयोग गराइसकेपछि त्यसको सम्पूर्ण प्रकृयाको मूल्यांकन हुनु जरुरी छ । सीप, दक्षता र प्रयोगलाई लेखेर प्रस्तुत गर्न सबैलाई सम्भव पनि छैन र आवश्यक पनि छैन । घर बनाउने मिस्त्रीले कति राम्रो काम गर्छन् ? चित्रकार, मूर्तिकार, कृषक, आदिको कार्यक्षमता कति अब्बल हुन्छ? घरमा आमाले थरीथरी परिकार कति मीठोसँग बनाउनुहुन्छ? तर यदि वहाँहरूलाई यो कसरी गर्ने भनेर कापीकलम दिएर लेख्न लगाएर परीक्षा लिंदै शब्द, वाक्य, व्याकरण, आदिको कसीमा मूल्यांकन गरीयो भने कस्तो नतिजा आउला? उत्तीर्ण होलान?अनुत्तीर्ण हुनाका कारण अयोग्य हुन् त? बिलकुल हैन किनकी वहाँहरूको सीप र दक्षता नै उहाँहरूको सिकाइ र जीवन हो, शब्द हैन र त्यसलाई कसैले खोस्न पनि सक्दैन । सीप र दक्षताको परीक्षण भनेकै त्यसको प्रयोग र त्यसबाट बन्ने वस्तुको हो । उसको गराई र सिर्जनालाई प्रभावकारी रुब्रिक्स बनाएर मूल्यांकन गरेपछि सिकाइ पूरा भयो । यसपछि अरु परीक्षा लिन आवश्यक छैन । लिनै परे फेरि बनाउन लगाऔं । तर महिनौ अगाडि उसले गरेको कामलाई वर्षको अन्तिममा सम्झीसम्झी लेख्न लगाएपछि फेरि त्यो त ज्ञान र बोधकै परीक्षण हुने भयो । त्यसैले यो बकवास तत्काल बन्द गर्नैपर्छ ।

  • सिर्जनात्मक, समालोचनात्मक र विश्लेषणात्मक सोच तथा समस्या समाधान सीप, प्रयोगात्मक कार्य क्षमता र मूल्य तथा अभिवृत्ती, आदिको मूल्यांकन मल्टिपल ईन्टेलिजेन्स्जमा आधारित पिबिएल गतिविधीहरुलाई अवलोकन गर्दै प्रभावकारी रुब्रिक्सको माध्यमबाट गर्न सकिने 
  • नेपालले पनि पाठ्यक्रमको विषयवस्तु र सीपदक्षताको राष्ट्रिय वा प्रदेश स्तरीयस्ट्याण्डर्ड बनाएर रुब्रिक्स निर्माणमा एकरुपता ल्याएर पाठ्यक्रमको स्तरोन्नती गरेमा र त्यसका लागि शिक्षकहरुलाई तयार पार्न सकेमा शिक्षामा ब्रेकथ्रु हुने सम्भावना

सिर्जनात्मक, समालोचनात्मक र विश्लेषणात्मक सोच तथा समस्या समाधान सीप चाँही समूहमा रहेर वास्तविक जीवनका समस्याहरूको परियोजना कार्य गर्दा मात्र सिक्न र प्रस्तुत हुन सक्छ । यसमा सीप र दक्षताको पनि प्रयोग हुन्छ । यसका लागि पनि कक्षाकोठा भित्रको सुनाउने शिक्षणले अवसर दिंदैन । तसर्थ चरणबद्धरुपमा यी सबै तहहरूको अभ्यास हुन पाउने गरी प्रभावकारी परियोजनामा आधारित सिकाइ (पिबिएल) योजना विकास गर्नुपर्दछ ।

यस्तो परियोजना कार्य विकास गर्दा विद्यार्थीहरूको बहुमुखी बुद्धिमता वा मल्टिपल ईन्टेलिजेन्सेजलाई पनि मध्यनजर राख्नुपर्ने हुन्छ अन्यथा परियोजनाका कृयाकलापहरूमा विद्यार्थीहरूको अभिरुची स्थापित हुन सक्दैन । यस अर्थमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएलले सिकाइका सबै चरणहरूको अभ्यास र अनुभवको मौका दिन्छ र गहिरो सिकाइ घटित हुन्छ । अब परियोजना कार्य गर्दै गर्दा नै समुह कार्य, सिर्जनात्मक, समालोचनात्मक र विश्लेषणात्मक सोच तथा समस्या समाधान सीपको मूल्यांकन गर्दै जानु पर्दछ । यसबाट उनीहरूलाई सिकाइसँग बाँधी राख्न मद्दत पनि गर्छ ।

अमेरिकी शिक्षाविद् डा. मार्विन मार्शल भन्छन्, “मान्छेको वास्तविक स्वरुप त कसैले नदेखेको अवस्थामा गर्ने व्यवहारमा मात्र देखिन्छ। यसको पनि एउटै विकल्प भनेको रुब्रिक्समा आधारित निरन्तर मूल्यांकन नै हो । नत्र, “विद्यालय परिसर कसरी र किन सफा राख्नुपर्छ?”

त्यस्तै विद्यार्थीहरूको मूल्य र अभिवृत्ति त झन् सुनाएर सिक्ने र लेखेर परीक्षण हुने विषय पटक्कै हैन । यसको वास्तविक रुप त मान्छेको बोलीवचन, व्यवहार, समूह कार्य र अन्तव्र्यक्ति सम्बन्धमा प्रकट हुन्छ । अझ अमेरिकी शिक्षाविद् डा. मार्विन मार्शल भन्छन्, “मान्छेको वास्तविक स्वरुप त कसैले नदेखेको अवस्थामा गर्ने व्यवहारमा मात्र देखिन्छ। यसको पनि एउटै विकल्प भनेको रुब्रिक्समा आधारित निरन्तर मूल्यांकन नै हो । नत्र, “विद्यालय परिसर कसरी र किन सफा राख्नुपर्छ?” भन्ने प्रश्नको २ पेज जवाफ लेख्ने विद्यार्थी बाहिर आएर चुईगम र चाउचाउको खोल जथाभावी फाल्दै हिंड्ने निश्चित छ । संस्कृति र परम्परा जोगाउन उत्कृष्ट सुझाव दिनेहरू प्वाल परेका पाइन्ट लाएर कपालमा चर्तिकला गर्दै सम्पदा ध्वस्त पार्दै हिंडेको देख्न सकिन्छ । मातापिताको सम्मानमा आँसु खस्ने निबन्ध लेख्नेहरूको बाआमासँग बोलीचाली महिनौदेखि बन्द भएको हुनसक्छ किनकी हामीले उनीहरूको व्यवहारको नभई मात्र उत्तर पुस्तिकामा लेखिएका अक्षरहरूको मात्र मूल्यांकन गर्दै  आएका छौं ।

नेपालको मूख्य समस्या भनेको यस्ता विविध खालका स्ट्याण्डर्ड नहुनु र शिक्षकशिक्षिकहरूसँग गराई र अनुभवको अवसर दिएर ज्ञानको निर्माण र सिर्जना गराउने परियोजना कार्यहरू विकास गर्ने र त्यसको सर्वपक्षिय मूल्यांकनको लागि प्रभावकारी रुब्रिक्स निर्माण गर्ने सीप र दक्षता नहुनु हो ।

यस्तो खालको बहुपक्षीय निरन्तर मूल्यांकनका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ प्रभावकारी रुब्रिक्स । अमेरिकामा यस्ता सबै पक्षहरूको मूल्यांकनका लागि पाठ्यक्रमको विषयवस्तु र सीपदक्षताको राज्यस्तरीय कमनकोर स्टेट स्ट्याण्डर्ड, एक्काईसौं शताब्दीको क्षमता “फोर सी को कमनकोर स्ट्याण्डर्ड र उच्च शिक्षा केन्द्रित “थ्री सी (कलेज, करियर, सिभिक लाईफ) फ्रेमवर्कको  स्टेट स्ट्याण्डर्ड, आदि निर्दिष्ट गरेको देखिन्छ । मूल्यांकनका सबै रुब्रिक्सहरू यसैको आधारमा बनाईने भएकोले सिकाइ उपलब्धीमा एकरुपता सुनिश्चित हुन्छ । अन्य विकसित देशरुमा पनि कुनै न कुनै रुपमा यसको व्यवस्था रहेको पाइन्छ ।

नेपालको मूख्य समस्या भनेको यस्ता विविध खालका स्ट्याण्डर्ड नहुनु र शिक्षकशिक्षिकहरूसँग गराई र अनुभवको अवसर दिएर ज्ञानको निर्माण र सिर्जना गराउने परियोजना कार्यहरू विकास गर्ने र त्यसको सर्वपक्षिय मूल्यांकनको लागि प्रभावकारी रुब्रिक्स निर्माण गर्ने सीप र दक्षता नहुनु हो । तसर्थ, नेपालले पनि पाठ्यक्रमको विषयवस्तु र सीपदक्षताको राष्ट्रिय वा प्रदेश स्तरीय स्ट्याण्डर्ड बनाएर रुब्रिक्स निर्माणमा एकरुपता ल्याएर पाठ्यक्रमको स्तरोन्नती गरेमा र त्यसका लागि शिक्षकहरूलाई तयार पार्न सकेमा शिक्षामा ब्रेकथ्रु हुने देखिन्छ । शिक्षामा रुपान्तरण भाषण, गफ र बिरोधबाट आउँदैन । यसको लागि कक्षाकोठाको गतिविधि र त्यसको मूल्यांकनमा गतिशील परिवर्तन आवश्यक हुन्छ । आज हामी यसपालीको एसइई नतिजा र कक्षा १२ परीक्षाको विषयमा विवाद गर्नमा व्यस्त छौं तर अनलाईन लगायतका बैकल्पिक सिकाईको प्रभावकारीता, आजको दिनमा हुनुपर्ने निरन्तर विद्यार्थी मूल्यांकन र आगामी वर्षको प्रयोगात्मक परीक्षाको विषयमा कसैको ध्यान गएको देखिंदैन । शिक्षाको कुरा गर्दा १० वर्षसम्मको दूरदृष्टिलाई छोटो मानिन्छ तर हामी ६ महिना पछिको पनि सोच्न भ्याईरहेका छैनौं । स्थिती यस्तै रहने हो भने हामी अर्को वर्ष पनि यही विषयमा विवाद गर्दै रहनेछौं र यो सिलसिला दशकौंसम्म कायमै रहनेछ । तैपनिआशा गरौं, नेपालको शिक्षाले रुपान्तरणको थालनी छिटै गर्नेछ ।

(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिस सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल (एमआई पिबिएल) पद्दतीका प्रवर्तक समेत हुन् ।)

-शिक्षालय मासिकबाट

 

 

2 Comments

  • सार्है राम्रो र यथार्थपरक लेख आदरणिय सरको | सरको प्रवर्तनलाई प्रत्येक बिद्यालय, कक्षा कोठा र शिक्षक माझ पुर्याउने जागरण चलोस र हामीले पनि सरको सहयोगमा केही योगदान हाम्रा बिद्यालय मार्फत पुर्याउन पाऊँ भन्ने कामना गर्दछु |

  • परम्परागत मूल्याकंन प्रणालीको साङ्लो चुडाएर नयाँ मार्गमा हिडाउने सरको प्रयासलाई सलाम । यो हजुरको अभियानले निरन्तरता पाउनु पर्छ सर ।

Leave a comment