August 07, 2020
अन्तर्वार्ता

विद्यालय सञ्चालनमार्फत परिचय र प्रतिष्ठा 

विद्यालय सञ्चालनमार्फत परिचय र प्रतिष्ठा 

समय बलवान् हुन्छ । आफ्नो कर्मभूमिमा दिनरात खटिँदा समय बितेको पत्तो हुँदैन । निरन्तर क्रियाशील भएर कार्य गर्दा जीवनमा कर्मभन्दा अन्य कुनै विषयलाई प्राथमिकता दिने फुर्सद नै मिल्दैन पनि । तर, जीवनको यो लामो यात्रालाई पछि फर्किएर हेर्ने हो भने त्यो कर्मशील व्यक्तिले इतिहासको कालखण्डमा आफ्नो छुट्टै परिचय रचिसकेको हुन्छ । संस्थागत विद्यालय अर्गनाइजेसनका संरक्षक राजेश खड्काजस्ता शैक्षिक जगत्को इतिहासमा लामो रेखा कोर्न सफल व्यक्तिसितको कुराकानीका आधारमा उनको जीवनका भावशैली उनकै शब्दमा:

वि.सं. २०३७ मा झापा जिल्लाको बिर्तामोडमा कक्षा नर्सरीदेखि ३ सम्म जम्मा ७६ जना विद्यार्थीबाट लिटल फ्लावर्स इंग्लिस मिडियम स्कुल सुरु गरियो । हाल विद्यालयको क्षेत्रफल विस्तार गरेर ५ बिघा जमिनमा फैलिएको छ । 
आश्चर्य लाग्छ, ०३८ मा झापाजस्तो जिल्लामा मानिसहरू प्राइभेट स्कुल हुन्छ भन्दा छक्क पर्थे, जिब्रो टोक्थे । प्राइभेट स्कुलको अवधारणा मानिसको मानसपटलमै थिएन । ०३७ मा प्राइभेट स्कुल खोल्दा म र मेरा साथीलगायत केही हितैषी, जसको बसाइ भद्रपुर, धुलाबारी, शनिश्चरे, बुधबारे इलाम र पूर्वका केही ठाउँ इटहरी, धरान, विराटनगरसम्मका विद्यार्थीको संलग्नता रह्यो । खास गरेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन त्यसताका पूर्वतिरका भारतको दार्जलिङ, खर्साङ, कालिङपोङ, सिक्किमलगायत ठाउँका विद्यालयमा पढ्न पठाउने गरिन्थ्यो ।

त्यो आवश्यकता पूर्ति गर्न पूर्वाञ्चलको बिर्तामोडमा खोलिएको लिटल फ्लावर्स इंग्लिस मिडियम स्कुलले सक्छ भन्ने विश्वासले सबै साथीभाइले आफ्ना छोराछोरी मेरो जिम्मा लगाए र यसरी कक्षा सञ्चालन गरियो । विद्यालय सुरु गर्दा त्यसवेला नेपालमा न पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो, न त शिक्षक–कर्मचारी नै । बडो दुःखले सबै पूर्वाधार व्यवस्थापन गर्न भारतका नजिकका जिल्लाहरूबाट ल्याएर काम चलाउनुपर्ने अवस्था थियो । खास गरेर भारतको आइसिएसई बोर्डबाट प्रभावित भएर विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति रहन्थ्यो । 

प्रत्येक वर्ष कक्षा वृद्धि गर्दै लाँदा अभिभावकको विश्वास र इष्टमित्रको सहयोगबाट लिटल फ्लावर्स इंग्लिस मिडियम स्कुल छोटै समयमा व्यवस्थित एवम् सुदृढ ढंगले सञ्चालन हुन थाल्यो । चार वर्षभित्रै त्यहाँका इष्टमित्रको सल्लाहअनुसार राजधानी काठमाडौंमा एउटा अन्तर्राष्ट्रियस्तरको बोर्डिङ स्कुल सञ्चालन गर्न पहल सुरु भयो । त्यसैअनुसार ०४१ देखि सानेपाको किरण भवनमा जेम्स स्कुल प्रारम्भ भयो । सुरुको वर्ष ८७ जना विद्यार्थी र २६ जना शिक्षक–कर्मचारी लिएर सञ्चालन गरिएको जेम्स स्कुलमा कक्षा नर्सरीदेखि ३ सम्म मात्र कक्षा सञ्चालित थिए ।

आज कक्षा १ देखि १० सम्म र प्लस टुको विज्ञान र जिसिए, ‘ए’ लेभलसमेत गर्दा ३ हजार ५ सय विद्यार्थी जेम्स स्कुलमा अध्ययनरत छन् । त्यस समयमा निजी क्षेत्रबाट स्कुल स्थापना गरी सञ्चालन गर्नु भनेको सञ्चालकहरूको ठूलो मिहिनेत, व्यवसायप्रति पूर्ण उत्तरदायी, इमानदारी र समयको ठूलो संलग्नता आवश्यक पथ्र्यो । दुवै स्कुल स्थापना गर्दा मलगायत मेरी धर्मपत्नी उमा र त्यस समयका शिक्षक–कर्मचारी तथा अभिभावकको सहयोगबाट मात्रै यो सम्भावना भयो ।

लिटल फ्लावर्स इंग्लिस मिडियम स्कुल सुरु गर्नुअगाडि ०२८ मा कलेज पढ्दापढ्दै बुबाको स्वर्गारोहण भएपछि परिवारको जेठो छोरो भएको नाताले घरव्यवहार हेर्न आफ्नो कर्मक्षेत्र झापाको बिर्तामोड बस्नुपर्ने हुँदा त्यस क्षेत्रको सामाजिक, खेलकुद, विकास, गाउँ तथा जिल्लास्तरको तत्कालीन राजनीतिक क्षेत्रमा प्रवेश र कार्यरत रहँदा धेरै सरकारी स्कुलसमेतको व्यवस्थापनमा सहयोग पु¥याउने अवसर मिल्यो । ०२८ बाट ०३३ सम्म अनारमनी, बिर्तामोडको प्रधानपञ्च पदमा कार्यरत रहँदा मेची अञ्चल खेलकुद विकास समितिको सदस्य, मेची अञ्चल फुटबल संघको उपाध्यक्षसमेत रहेर विविध क्षेत्रमा योगदान पु¥याउने मौका मिल्यो । 

मेरो व्यक्तिगत विचारमा स्कुल व्यवसाय सञ्चालन गर्नु भनेको अन्य व्यवसायजस्तो सरल कार्य होइन । जबसम्म संस्थापक तथा व्यवस्थापक स्वयम्ले चौबीसै घण्टा नजर पु¥याएको हुँदैन, त्यो स्कुलको सही अर्थमा उन्नति हुन सक्दैन । उदाहरणका लागि विद्यालय सञ्चालन गर्दाका वर्षहरूमा जिम्मेवारी र चिन्ताले गर्दा राति १२÷१ बजे पनि उठेर केटाकेटी सुतिरहेको डोमेट्रीमा बहुलाजस्तै निरीक्षण गर्न जाने गर्थें, यस अर्थमा कि सुतिरहेका बोडर्स नानीहरूलाई आया दिदीहरूले झुल नटाँगेर लामखुट्टेले पो टोकिरहको छ कि, अथवा झुलबाहिर हातखुट्टा पो निकालिरहेका छन् कि वा सुतिरहेका नानीहरूलाई ज्वरो पो आइरहेको छ कि ! यस्तै विषयको सधैँ चिन्ता पाथ्र्यो । झुल मिलाउँदै नानीहरूका हातखुट्टा भित्र राखिदिँदै र निधार छाम्दै म हिँड्ने गर्थें ।

यसरी सुरुको समयलाई सम्झँदा जे परे पनि मसित एउटै मात्र यातायातको साधनका रूपमा प्रयोग गरिएको साधन, जो विद्यार्थी बिरामी हुँदा होस्, विद्यालयको स्टाफ बिरामी हुँदा होस् वा किनमेलका लागि किन नहोस्, आफूसित त्यसबखत भएको रातो रङको ३४५६ नम्बरको होन्डा सिडी मोटरसाइकललाई म कहिल्यै भुल्न सक्दिँनँ, जसले मेरो दुःखको समयमा सहयोग दियो । मसित अहिले पनि त्यो पुरानो, बूढो तर इमानदार मोटरसाइकल र धेरै पुरानो टोयटा कार सुरक्षित छन् । छुट्टै ग्यारेजमा राखेको छु, जसको बाहिर लेखिएको छ– "Here lives my old faithful friends" अर्थात् यहाँ मेरा पुराना र इमानदार साथीहरू बस्छन् । 

शैक्षिक व्यवसाय सञ्चालन गर्न संस्थापकको आवरणमा केवल कमाएको मात्र देख्छन्, तर उसले के गुमायो भन्ने कुरा पनि हेर्नु आवश्यक छ । उदाहरणका लागि मैले विद्यालय व्यवसायबाट परिचय, नाम जीवनयापनका निम्ति जोहो त गरेँ, तर मलाई कता–कता लाग्छ, त्यतिका वर्ष विद्यालय सञ्चालन गर्दा अरूकै लालाबाला खेलाउँदा, रेखदेख गर्दा र असल विद्यार्थी बनाउँदा थाहै नपाई वर्षौं व्यतीत भएछ । युवावस्थाको उत्कृष्ट पक्ष र रमाइलोपन पत्तै नपाई बितेछन् । मलाई यो विषयमा गुनासो छैन । तर, आफ्ना छोराछोरीले गरेको कुरा सुन्छु, ‘हामीलाई त बुबाले माया पनि गर्न भ्याउनुभएन, हामीलाई समय नै दिन सक्नुभएन ।’

छोराछोरीको यो गुनासोयुक्त अनुभवले कहिलेकाहीँ मलाई झल्याँस्स ब्युँझाउँछ । म सोच्छु, साँच्ची नै अरूका मात्र छोराछोरीको हेरदेख गर्दा आफ्ना छोराछोरीलाई चाहेर पनि माया गर्न खोज्दा छोराछोरी लाज मान्छन्, म आफैँलाई अप्ठ्यारो पनि लाग्छ । अनि एक मनले भन्छ, तैँले गुमाएको पक्षा यही रहेछ । उमेरमा रमाइलो गर्ने उमेरजन्य उच्छृंखलता देखाउने, साथीभाइसित बसेर होहल्ला गर्ने रहर हुन्छ, तर विद्यालय सञ्चालनको जिम्मेवारीले त्यो आनन्द लिनै सकिनँ । मैले गुमाएको पक्ष यही नै हो कि जस्तो लाग्छ । योभन्दा पनि महत्वपूर्ण विषय र प्रश्न छ, विद्यालयको विषयमा अहिलेसम्म आर्जन गरेको ख्याति र कमाइलाई भविष्यमा यथावत् सञ्चालन कसले र कसरी गर्ने हो ? चिन्ता यही विषयमा रहन्छ, अन्य पक्षमा या विषयमा होइन ।
 

0 Comments

Leave a comment