July 05, 2020
अन्तर्वार्ता

होम स्कुलको पाईला

होम स्कुलको पाईला

सन २०५० आउन अझ ३१ बर्ष बाँकी छ । आउँदो तीन दशकमा संसारमा हामीले सोचे र चाहे भन्दा पनि छिटो गतिमा बिकास भएको हुने अनुमान गरिएकोले यस लेखमा तीन दशकपछि अर्थात सन २०५०मा संसारको शिक्षा कस्तो होला ? भन्ने अनुमानलाई आधार मानेरे यस लेखमा बस्तुगतता दिने प्रयास भए पनि पाठकहरुमा सहमति र विमति हुन सक्दछन् ।

हाल बिश्वको जनसङ्ख्या ७ अरब ७० करोड छ, यो सन २०३० मा ८ अरब ६० करोड पुग्ने अनुमान गरिएको छ । सन २०३० पछि बिश्वको जनसङ्खया बृद्धि दर घट्दो क्रममा जाने भए पनि सन २०५० मा १० करोड करोडको हाराहारीमा पुग्ने अनुमान छ । हालका बर्षहरुमा बर्षमा झण्डै ८ करोड ३० लाख जनसङ्ख्या बढ्ने गरेकोमा जनसङ्ख्या घट्नेक्रम बिकसित देशहरुमा सुरु भैसकेको तर अविकसित देशहरुमा अझ पनि जनसङ्ख्या बढ्दो क्रममा रहेको छ । शिक्षा तर्फ बिश्वभर अझै स्कुल उमेर समुह ५ देखि १६ उमेर समुहका २० प्रतिसत बालबालिकाहरु स्कुल बाहिर छन् । यी स्कुल बाहिर रहेका बालबालिकाहरुलाई भविष्य चोरिएका वा हराएका बालबालिकाहरु भनेर भन्ने गरिन्छ । यस लेखमा संसारमै सबै अभिभावक साक्षर तथा सबै बालबालिकाहरु बिद्यालय जान पाउने सुबिधाहरुको उपयोगमा हुनेछन् । कुनै पनि देश कम्तिमा बिकासशील देशको श्रेणीमा भएको हुने अनुमान समेत गरिएको छ ।

सन २०५० शिक्षितहरुको बिश्व हुनेछ । हाल पढ्न लेख्न जान्नेलाई साक्षर मानिनेमा त्यस बेला साक्षरताको परिभाषा बदलिने छ । सांकेतिक भाषामा साक्षर, ब्रेल लिपिमा साक्षर, ड्राइभिङमा साक्षर, उड्यनमा साक्षर, आत्मसुरक्षामा साक्षर, सङ्गीत एवं खेलकूदमा साक्षर,कुनै बर्गको पाककलामा साक्षर, ब्यापार ब्याबसाय गर्न साक्षर आदि धेरै श्रेणीमा साक्षरता वा निरक्षरता मापन गरिनेछ । अहिले जस्तो स्कुलमा शिक्षकहरु र एक, दुई कर्मचारीहरु मात्र नभै सुरक्षा अधिकारी, अनुशासन अधिकारी, स्वास्थ्य अधिकारी, पोषण अधिकारी, खेलकूद अधिकारी, भ्रमण ब्यबस्थापन अधिकारी, मनोबैज्ञानिक तथा मनोपरामर्शदाता र मुद्दा वा समस्यागत अधिकारीहरु जस्ता पदहरु सिर्जना भएका हुनेछन् । कतै भएका शिक्षक कर्मचारीलाई थप जिम्मेवारी दिएर काम चलाउन खोजिने छ भने कतै ठूलो सङ्ख्यामा भर्ना नै गर्नु पर्नेछ । खेलकूदमा एउटा खेल शिक्षक नभै खेलै पिच्छे शिक्षकहरु र संगितमा पनि धेरै शिक्षकहरु, कलामा पनि धेरै कला शिक्षकहरु माग भई भर्ना गर्नु पर्ने हुन सक्नेछ, जसले गर्दा सार्बजनिक शिक्षा महङ्गो हुन जानेछ ।

अहिले नीजि स्कुलहरुको संख्या बढिरहेको अवस्थामा त्यसको विकल्पमा नै होला सन २०५० मा त्यस बेला घरघरमै स्कुलहरु संचालन भएका हुनेछन् । यी घरघरमा शिक्षा दिने स्कुलहरुलाई होम स्कुल भनिने छ । सन २०५० मा शिक्षामा धेरै फराकिलो बिधिमा गएको हुनेछ । सार्वजनिक शिक्षाबाट नीजि शिक्षा तिर ढल्किरहेको हालको अवस्थाको बिकल्प घरघरको स्कुल बिधि अपनाइएको हुनेछ । व्यक्तिगत बिधिबाट शिक्षा दिने तरिकाको कारणले होमस्कुललाई प्राथमिकता दिइएको हुनेछ । वालवालिकाहरुले के पढ्न र सिक्न चाहन्छन् ? कहिले तिनीहरुले पढ्न र सिक्न चाहन्छन् ? कति समयसम्म पढ्न र सिक्न चाहन्छन् ? कसरी पढ्न र सिक्न चाहन्छन् ? कुनबेला पढ्न र सिक्न चाहन्छन् ? भन्ने पक्षलाई होम स्कुलिङमा समाबेस गरिने र घरमै पढ्दा सिक्दा धेरै शारीरिक संवेगात्मक र धार्मिक स्वतन्त्रता जस्ता अबसरहरुलाई जोड दिने तथा घर परिबारसँग धेरै समय बिताउन पाउने भएकाले सार्बजनिक वा नीजि औपचारिक स्कुलहरु भन्दा होम स्कूलहरुको प्रभाव सन २०५० मा बढेको हुनेछ । लागतको हिसाबले पनि होम स्कुलिङमा सार्बजनिक स्कुलमा भन्दा कम पैसा खर्च भएको हुनेछ । स्कुल बाताबरणको लागि घर धेरै राम्रो पनि हुनेछ । साथिभाइको दबाब आबश्यक वा अनाबश्यक प्रतष्प्रर्धा,, बोरलाग्ने बाताबरण, एकले अर्कोलाई गाली गलौज तथा कुटपिट गर्ने कुरा, होम स्कुलमा हुनेछैन् ।.हाल अमेरिकामा २३ लाख होम स्कुलमा पढेका वालबालिकाहरु भैसकेका छन् भने करिब २० लाख वालबालिकाहरु होम स्कुलिङमा छन् । होम स्कुलमा पढ्ने वालवालिकाका अभिभावकहरुले २७ करोड डलर बचाएका छन् यदि उनीहरुले आफ्ना छोराछोरीलाई सार्बजनिक स्कुलमा पठाएको भए यो रकम ट्याक्सको रुपमा तिर्नु पर्ने हुन्थ्यो । अहिले होम स्कुलिङमा पढेका वालवालिकाहरु पढाइमा अब्बल छन् राजनीति राम्ररी बुझ्दछन र सामाजिक सेवामा बढी लागिरहेकाछन् ।

सन २०५० मा ब्यापक रुपमा आउने होम स्कुलहरुले अहिलेको जस्तोे समाजिक र अन्तरबैयक्तिक सीप प्रदान गर्न पक्कै पनि सक्ने छैनन् । ठुलाबडाको ज्ञान वालबालिकामा दिने वा थोपर्ने भनेकै ज्ञानको हस्तान्तरण भएकोले साना वालवालिकाहरुलाई ठुलाबडाको अनुशासन तथा समय तालिकामा बाँधेर राख्ने चलनमा केही फरकपन आउला तर त्यो सम्पुर्ण रुपमा खतम हुने छैन । स्कुल भन्ने शब्द बदलिएला, यसलाई अर्कोे नाम दिइएला, कक्षा कोठामा बस्ने फर्निचर बदलिएलान, पढ्ने पुस्तकहरु डिजिटलाइज होलान, चकको ठाउमा सुपर चक आउला, गृहकार्यलाई परियोजना वा घरमा गरिने रमाइलो खेल वा घरमा भुल्ने मेसो भन्ने नाम दिइएला, पाठ्यक्रमहरु महिना महिनामा परिवर्तन होलान तर शिक्षा भनेको ब्यबहारमा परिबर्तन ल्याउने काम भएकोले यसमा सिकाउने सिक्ने बिषयबस्तु नसिक्दा हुने सजाय आदिका रुपहरु नाम वा बिशेषणले जे जस्तो भनिए पनि आमरुपमा नै चलिरहेका हुनेछन् । गुरुकुलीय प्रणालीमा जस्तो कण्ठस्थ पारेर सुनाउने काम, पढाइको वा सिकाइको रुपमा नभनेर एउटा इभेन्ट वा कार्यक्रमको रुपमा अहिले भन्दा बढी, प्रशस्तै प्रयोगमा आउनेछन् । पढाउने माध्यम बदलिएलान तर बिषयबस्तु त उनै पुराना भनिन,े आजकै बिषयबस्तु नै हुनेछन । उदाहरणहरु दिदा फरक नामले फरक किसिमले दिइएला । आजका बिषयबस्तुमा मात्र सन्तुष्ठ नभएर सुनौलो बिगतको खोजी हुनेछ । अहिले ओझेलमा परेको इतिहास तथा संस्कृतिको ज्ञान २०५० मा बढी प्रयोगमा आइरहेको हुनेछ ।

शिक्षकहरुले त्यसबेला पनि कम सुबिधा दिइयो भनेर आन्दोलन ग।िरहनेछन र त्यसबेला पनि उनीहरुको माग जायज भनिने छ तर समाधानको बिर्को कसिलो गरी लगाइने छैन् । शिक्षा दिने बिद्यालय तथा तरिकाहरुमा बिबिधता आउने हुदा उनीहरुका मागले सही सम्बोधन पाउने छैनन् । बिद्यार्थीहरुलाई साधन एवं स्रोत विना ज्ञान आर्जन गर्न शिक्षकहरुले उत्प्रेरित गर्नेछन् । ढुङ्गे युगकै परिकल्पनामा बाँच्न सक्ने बनाउनु शिक्षाको तत्कालीन उद्देश्य समेत हुन सक्ने छ । पढ्न र सिक्न त्यसबेलामा हुने सुबिधाका साधनहरुले बाधा पुराइएको महसुस गरी गुरुकुलीय आश्रमहरु जस्ता बिद्यालयहरुमा अभिभावकहरुको चासो हुनेछ । हुनत नीजि क्षेत्रले कार्यस्थलमा नै पढाइ गर्ने, तालिम दिने खालको बाताबरण बनाउन चुक्ने छैनन् । गोठमा गाई पाल्ने स्कुल, खेतमा कृषि स्कुल, पोखरी नदीनालामा माछा मार्ने स्कुलै खोलेरै भए पनि नीजि क्षेत्रले शिक्षामा आफ्नो उपस्थिति जनाउने छ । कृत्रिम गुरुकुल आश्रम वा कृत्रिम ऋषिमुनी जस्तो वाताबरण सिर्जना गरेरै भए पनि जनतालाई नीजि शिक्षामा खर्च गर्न लोभ्याउने छन् । सरकारी संयन्त्रले शिक्षा बिकास तथा शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्ने भन्दा पनि यी नीजि शिक्षा प्रदायक संस्थाहरुको मापदण्ड र नियमनमा नै समय खर्चिने छ । मापदण्डमा नपरेका स्कुलहरुलाई अदालतमा मुद्दा हाल्ने क्षतिपुर्ति तिराउने र नीजिले पूनरावेदन गर्ने जस्ता कुरामा अल्झिने वातावरण आउन सक्छ ।

पाठ्यक्रम तर्फ मूल पाठ्यक्रममा भएका कुरालाई प्रशस्त नभएको भनी पाठ्यक्रम इतर पाठ्यक्रम वा पढाई गर्न दबाब दिइने छ । स्कुलमा यौन शिक्षा, कार्यक्षेत्र सुरक्षा, साइबर सुरक्षा वा तात्कालीन समस्यालाई पाठ्यक्रम बनाई पढाउन बिशेष दबाब दिइने छ । सरकारले पाठ्यक्रम तयार गरी लागुहुदा सम्म त्यो समस्या अन्य क्षेत्रबाटै हल भैसकेको हुनसक्नेछ । गणित शिक्षणमा पहाडा जोड घटाउ गुणा र भागा भिन्न दशमलव आदि कुरा क्याल्कुलेटरले गरिदिदा बिद्यार्थीमा गणितको सुझबुझ हराएको भनी फेरी परम्परागत कण्ठस्थ पार्ने पद्दतिलाई अगाडि ल्याइने सभावना पनि छ ।

सन २०५० मा ब्यक्तिकरण गरिएको सिकाइ प्रणाली रहनेछ । यो सिकाइले कक्षाको सिकाइ तह पनि ब्यक्तिगत गतिमा भएको हुनेछ । शिक्षक वा गुरुहरुले सिकाउन सुरु गरेको बिषयबस्तुमा मात्र बिद्यार्थीहरुले सिक्ने नभई बिद्यार्थीहरु आफ्नै गतिमा सिकाइ अगाडि वा पछाडि भएका हुनेछन् । आफ्नै गतिमा सिक्ने वातावरण भएको हुनाले बिद्यार्थीहरुमा आफ्नो गतिमा सिकाइ निर्भर हुनेछ । व्यक्तिगत र स्वगति कायम भएको पाठ्यक्रम हुने भएकोले सिकाइ प्रभावकारी र सजिलो किसिमको हुनेछ । प्रबिधिहरुले सिकाइलाई संभावित क्षमता र सिर्जनात्मकता ल्याउन सहयोग पुर्याउनेछ । प्रबिधिको सहयोगले ज्ञानलाई अनलाइन क्षेत्रमा स्थान्तरण भैसकेको हुनाले सन २०५० मा धेरै भन्दा धेरै भर्चुअल कक्षाहरु संचालन हुनेछन् । ई(लर्निङ सबैले बेहोर्न सक्ने सुलभ तथा सस्तो भएको हुनेछ । दूर शिक्षण मोडलमा होम स्कूलहरु संचालनमा आएका हुनेछन् । घरमै बसेर पढ्दा, पढाइ र घरको काम दुबै कुराहरुलार्ई मिलाएर लैजान सक्ने वातवरण सिर्जना गरी अगाडी बढ्ने सीपको बिकास भएको हुनेछ । सिक्न बिद्यार्थी आफै भौतिक रुपमै उपस्थित हुनु पर्ने युगको अन्त भएको हुनेछ । भौतिक रुपमा स्कुलहरु साना हुनेछन् । हामीले अहिले बनाएका जस्तै स्कुलहरु पनि हुनेछैनन् । सिकाइ स्कुलमा मात्र सिमित हुनेछैन । यात्रा गर्दा लिइने यात्री कक्षा र संसारको वातावरणको अनुभव आफैले लिएर मात्र सिक्न चाहनेले वाताबरणीय कक्षा मरुभुमी, समथर पहाड वा उच्च हिमाली भागमा समेत मौसमी कक्षाहरु चलाउने नयाँ बिद्यालयहरु खुलेका हुनेछन् । तर पनि शहरी पुस्तकालय तथा प्रयोगशालाहरु भने निश्चित स्थानमा स्थापना भई संचालनमा आएका हुनेछन् । एकै ठाउँ वा कक्षामा बसेर पढ्नै पर्ने कानूनलाई समेत परिमार्जन गरिने छ । तर मूल्याङ्कन, स्तरीकरण तथा प्रमाणपत्र दिने काम स्कुलहरुले तोकिएको मापदण्डका आधारमा रहेर गर्नेछन् । सन २०५० को मूल्यांकन प्रणाली मूलत परियोजनामा आधारित सिकाइमा केन्द्रित रहनेछ् । शिक्षकहरु गुरु नभै केवल पथ प्रदर्शक मात्र हुनेछन् । शिक्षकहरुको भुमिका ज्ञानगुनका कुरा दिने ब्यक्ति नभै बिद्यार्थीका मुल्य, मान्यता रुची र सक्षमता पहिचान गरी सोही आधारमा पथ प्रदर्शन गर्नु हुनेछ । शिक्षकहरुको पहिलो तथा महत्वपुर्ण काममा बिद्यार्थीहरुको योग्यता तथा क्षमता बुझेर उनीहरुलाई आबश्यकता परेको स्थानमा पथ प्रदर्शन मात्र गर्नु पर्ने छ । शिक्षकहरुले सहजकर्ता वा पथप्रदर्शकको रुपमा बिद्यार्थीहरुलाई उनीहरुको सोच्ने तरिका र सिकाइ बिकास गर्न सहयोग मात्र गर्ने छन् ।

सन २०५० को सिकाइमा सामाजिक र संबेगात्मक सीपहरु प्राथमिकतामा राखिने छ । भबिष्यको कार्यक्षेत्रमा ठाउ पाउनको लागि सीपहरु जस्तै सिर्जनशीलता सहकार्य, संचार र समस्या समाधान जस्ता सीपका कुराहरु हुनै पर्ने सक्षमताहरु हुनेछन् । यस्ता बिशेषज्ञता नभएकाहरु भोलीको बजारमा बिक्न र टिक्न सक्ने छैनन् । कक्षाकोठामा छलफल, सहयोगात्मक समुह, कार्य समस्या समाधान र समुहको प्रत्यावर्तन गर्ने कुराहरु सिकाइने छ । अभिभावकहरु पनि वालवालिकाहरुलाई यस्ता सीपहरु सिकाउन र सुरक्षित वातावरण दिन आफुहरु पनि संलग्न हुनेछन् । खेलकुद संगित जस्ता सहकृयाकलापहरुले छिटो सीप सिक्न सहयोग गर्नेछन् । अध्ययनहरुले के देखाएका छन भने स्कुल तहमा गरेका सामाजिक सेवाका कामहरुले भबिष्यमा वालबालिकाहरु अपराधिक गतिबिधिहरुमा कम संलग्नता हुने कुरा समेत देखाइएको छ । शैक्षिक प्रबिधिको प्रयोगले बालबालिकाहरुलाई प्रसस्त सिक्ने अवसरहरु दिनेछ । बिभिन्न खाले एप्सहरु, सिर्जनात्मक परियोजनाहरु भिडियो लेक्चर, उदार कक्षोन्नतिले सिर्जनात्मक सोचाइ र समस्या समाधानमा सहयोग मिल्नेछ । त्यस समयमा स्कुलका स्वरुपहरु फेरिने छन् । वालवालिकाले कक्षा कोठा बाहिरको संसार बिचरण गर्न, प्रकृतिसँग नजिकमा हुन अध्ययन गर्ने अवसर पाउनेछन् । शिक्षकको सिकाइ प्रकृयामा फराकिला अवसर, नयाँ इन्फोग्राफिक बिधि आदिको अवस्थाले सन २०५० साच्चै सिकाइको संसार हुनेछ ।

0 Comments

Leave a comment