July 05, 2020
विविध

‘पहरी समुदाय रोगले भन्दा भोकले पो मर्ने हो कि भनेर त्रसित छन्’

‘पहरी समुदाय रोगले भन्दा भोकले पो मर्ने हो कि भनेर त्रसित छन्’

कोरोना भाइरसको महामारीको कारणले गर्दा हामी लामो समयदेखि लकडाउनमा छौं । यो नेपाल सरकारको निर्णयलाई पालना गरेको कारणले गर्दा हामी सुरक्षित छौं । यसरी लामो समयदेखि लकडाउन हुँदा श्रमजीवी वर्गहरुका लागि जीविकोपार्जनको लागि ठुलो समस्या छ । विशेषगरी, गोदावरी न.पा. वडा नं. ४ मा करिव ६५ प्रतिशत जनताले आजै काम गरेर आजै खानुपर्ने पहरी समुदायका मानिसहरु छन् । यिनीहरु वेद बाँसको आधारित कामहरु डाला, नाङ्ला, याकहरुजस्ता सामानहरु बनाउने गर्दछन् । यिनीहरको खेती योग्य जमिन छैन । पशुपालन गरेको अवस्था पनि देखिँदैन ।

पहरी समुदायको जिउने आधार भनेको वेद बाँसवाट बनाएका सामान बिक्रीबाट आर्जित रकम नै हो । यो अवस्थामा बनाएका सामान बिक्री गर्न पनि पाएका छैनन् । केही सामान बनाई राख्यौ भने बाँसहरु छैन  । यो परिस्थितिमा यहाँको जनताको दिनचर्या  रोगले भन्दा पनि भोकले मर्ने पो हो कि भन्ने त्रसित अवस्थामा छन् । यसलाई मध्यनजर गरी यहाँका जनताहरुलाई बैशाख महिनाभरी खान पुग्ने गरी प्रत्येक घर–घरमा पुगेर राहत वितरण गरेका छौं । वडाको आफ्नै  पहलबाट शुरु गरिएको राहत वितरण कार्यक्रममा  गोदावरी न.पा.का मेयर, उपमेयर र सबै वडाका वडा अध्यक्षहरुको सक्रिय भूमिका रहेको छ । लकडाउन बैशाख २५ बाट फेरि लम्बिएको अवस्थामा ती जनताहरुलाई खाद्यान्न अभाव हुने देखिन्छ । काम गर्न जाने अवस्था नभएको र आफ्नो साथमा केही नहुँदा यिनीहरुमा मानसिक तनाव बढेको देखिन्छ । यस्तो समस्याले गर्दा गोदावरी न.पा. वडा नं. ४ लाई धेरै समस्या परेको छ । अहिले यहाँका वडा बासीहरु राहत पाऊँ भनेर वडामा धाउन थालेका छन् ।

म यो विपद् व्यवस्थापनको संयोजक भएको हुनाले हाम्रो गोदावरी न.पा.को १४ वटै वडाहरुमा अवस्थित श्रमिक वर्गहरु, एकल महिलाहरु, सुत्केरी महिलाहरुलाई पहिलो र दोस्रो चरणमा राहत वितरण गरेको जानकारी गराउँछु । गोदावरी न.पा.का मेयर, उपमेयर र सबै वडाका वडा अध्यक्षहरुको बैठक बसी तेस्रो चरणको राहत वितरणको तयारीमा छौं । गोदावरी न.पा. का जनताहरु कोही भोका नरहुन् भनेर हामी जनप्रतिनिधि दिनरात खट्दै आएका छौं । गोदावरी न.पा. को संयोजनमा शुरु गरिएको राहत कोषमा थुप्रै संघ संस्था र समाजसेवीहरुको हातेमालो रहेको छ । हामीले जनताहरुलाई सुसूचित गर्नको लागि जनहितमा जारी सन्देश सबै वडा वडामा माइकिङ गर्ने व्यवस्था गरेका छौँ । स्वास्थ्य परीक्षणका लागि सवै वडामा व्यवस्था गर्नुको साथै अस्पतालसमेत गोदावरी न.पा.ले सञ्चालनमा ल्याएको छ ।  

0 Comments

Leave a comment